अलैंची बिक्रीका तयारी

 
 
 
 
 
अलैंची बिक्रीका लागि पठाउने तयारीसहित गुणस्तरको तह (ग्रेडिङ) छुट्याइँदै लमजुङका कृषक । तस्बिर : आश गुरुङ/कान्तिपुरचैत्र २०, २०७३- यहाँ अलैंचीको उत्पादन बढेको छ भने अलैंची व्यवसायी महासंघले पहिलोपटक व्यापार चिह्न ‘ट्रेडमार्क’ प्रयोग गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी गरेको छ । 
लमजुङ र ताप्लेजुङ, पाँचथर, झापा, इलाम, धनकुटा, दोलखा, रोल्पा, तनहुँ, कास्की, गोरखा, धादिङलगायत ४५ जिल्लामा अलैंची खेती हुन्छ । यसबाट ४० लाखले प्रत्यक्ष फाइदा लिइरहेका छन् । वार्षिक कम्तीमा ५ अर्ब रुपैयाँ बढीको अलैंची भारत निर्यात हुने गरेको एक तथ्यांकले देखाएको छ । नेपालमा उत्पादित अलैंची अब आफ्नै ट्रेडमार्कमार्फत तेस्रो मुलुक पठाउने तयारी व्यवसायीहरूले गरिरहेका छन् । अलैंचीको भण्डारण र सुकाउने तरिका परम्परागत भएकाले केही ठाउँका अलैंचीको गुणस्तरमाथि प्रश्न उठेको व्यवसायी बताउँछन् ।
महासंघका नवीनकुमार बर्माका अनुसार अलैंची ‘एभरेस्ट बिग कार्डमम’ को ट्रेडमार्कको नाममा दर्ता भएको र अन्तर्राष्ट्रिय बजारमा दर्ताको प्रक्रियामा छ । उनका अनुसार चालु आर्थिक वर्षभित्र पहिलोपटक यूएई, पाकिस्तान र बंगलादेशमा लैजाने तयारी गरिएको छ । 
व्यवसायीका अनुसार पुच्छर नकाटिएको, आधा भाग नसुकेको, कलिलो टिपेर सुकाएको, चुरुम्फा (वन अलैंची) मिसिएको अलैंचीले गुणस्तर खस्केको छ । गत वर्ष ४ हजार टन अलैंची उत्पादन भएकोमा यस वर्ष बढेर ५ हजार टन पुगेको छ । 
नेपालमा विसं १८३० मा भारतबाट बिरुवा ल्याएर इलामका पहलमान महतले अलैंची खेती थालेका थिए । दुई शताब्दीसम्म नेपाली किसानले कायम गरेको गुणस्तरको जस अहिलेसम्म भारतले लिँदै आएको छ । ‘हाम्रो अलैंचीलाई कसरी गुणस्तरीय बनाउनुपर्छ भनेर लाग्नुपर्ने बेला आएको छ,’ अलैंची व्यवसायी महासंघ जिल्ला शाखा पाँचथरका अध्यक्ष खेम अधिकारीले भने, ‘हामीले राम्रो बनाएर पठाउने । भारतमा गएपछि उनीहरूको अलैंचीसँग मिसाउने गर्दोरहेछ । राम्रो भए आफू जस लिने, नराम्रो भए नेपालबाट आएको भनेर लगाइदिँदोरहेछ ।’ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले अलैंचीको गुणस्तर कायम गर्न जिल्लामा अभियान सुरु भएको बताए । 
जिल्लाको साविक ३६ गाविसमा यस वर्ष करिब ८ सय ५० क्विन्टल अलैंची उत्पादन भएको थियो । गत वर्ष २८ गाविसमा ६ सय २० क्विन्टल उत्पादन भएको थियो । यस वर्ष अलैंची बिक्रीबाट किसानले १० करोड ६७ लाख ३० हजार रुपैयाँ आम्दानी गरेका छन् । गत वर्ष १२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेका थिए । उनका अनुसार अलैंची उत्पादन बढेकोमा यस वर्ष मूल्य घटेको छ । उनले अलैंचीको गुणस्तर कायम गराउन कृषकको घरदैलोमै पुगेर सचेतना प्रशिक्षण दिइरहेको बताए । अलैंचीको गुणस्तर सुधार्न अलैंचीमा ‘पुल्ठो’ लगाउन प्रतिबन्ध लगाएको उनले बताए । ‘भट्टीमा सुकाएको अलैंची पुच्छार नझरेमा मट्टीटेल, पेट्रोल, ग्यास बालेर पुच्छार जलाउने कार्यको प्रतिबन्ध लगाएको छौं,’ उनले भने । 
 
 
 

Free business joomla templates
web tracking