(भेडीखर्के साइँला) को सालिक निर्माण गरिए

 
ठाडोभाका शिरोमणि स्वर्गीय दीर्घराज अधिकारी (भेडीखर्के साइँला) को सालिक निर्माण गरिएको छ ।
 
 
ठाडोभाकालाई देशविदेशमा चिनाउनुभएका भेडीखर्के साइँलाको सालिक लमजुङको सुन्दरबजार नगरपालिका ६,सुन्दरबजारको लक्ष्मीनारायण मन्दिर परिसरमा निर्माण गरिएको छ।भेडीखर्के साइँला स्मृति प्रतिष्ठान लमजुङको सक्रियातमा संकलन गरिएको सहयोग रकमबाट सालिक निर्माण  गरिएको प्रतिष्ठानका अध्यक्ष शम्शेर लौडारीले बताउनुभयो । उहाँका अनुसार घरदैलो कार्यक्रममार्फत संकलन भएको ६ लाख रुपियाँबाट अर्ध कदको सालिक निर्माण गरिएको हो । जीवनभर ठाडोभाको संरक्षणमा लाग्नुभएका भेडीखर्के साइँलाको ठाडोभाकाप्रतिको योगदानको कदर गर्दै सालिक निर्माण गरिएको उहाँले बताउनुभयो । ‘भेडीखर्के साइँलाको योगदान ठूलो छ । उहाँले देशसंगै विदेशमा समेत ठाडोभाका चिनाउनुभयो । संरक्षण गर्नुभयो । उहाँकै योगदानको सम्मान गर्दै सालिक बनाएका छौं’ उहाँले भन्नुभयो । ठाडोभाकाका शिरोमणी भेडीखर्के साइँला नरहे पनि प्रतिष्ठानले ठाडोभाकाको संरक्षणमा निरन्तर लाग्ने बताउनुभयो । स्थानीय रामकृष्ण भण्डारीले लमजुङेको मौलिक सँस्कृति ठाडोभाकलाई देशव्यापी बनाउन भेडीखर्के साइँला मरिमेटेर लागेको बताउनुभयो । ‘केहि कुराको ख्याल नगरी निरन्तर ठाडोभाकामै लाग्नुभयो । ठाडो भाका गाउँदा गाउँदै उहाँको निधन भयो । उहाँको सम्मान हुन आवश्यक छ’ उहाँले भन्नुभयो । भेडीखर्के साइँला ठाडोभाका गाउँदा उत्कृष्ट शब्द चयन र लयबद्ध रुपमा गाउन सक्ने क्षमता रहेको व्यक्ति रहेको उहाँले बताउनुभयो ।
 
ठाडोभाकालाई दुरा र गुरुङ समुदायको सँस्कृतिको रुपमा लिइएपनि ब्राह्मणका छोरा भेडीखर्के साइँलाले संरक्षण गरेको दुरा सेवा समाज सुन्दरबजारका उपाध्यक्ष चन्द्रबहादुर दुराले बताउनुभयो । ‘बाहुनको छोरा भएपनि ठाडोभाका संरक्षणमा लागिरहनुभयो । यसलाई सबै ठाउँमा प्रचार गर्नुभयो । अब यसको संरक्षणका लागि नयाँ पुस्ता लाग्नुपर्छ’ उहाँले भन्नुभयो । ठाडोभाकालाई हराउन नदिन सक्दो लाग्ने स्थानीय ज्ञानेन्द्र शर्माले बताउनुभयो । ‘ठाडोभाका शिरोमणीको निधन भएपनि । हामी युवा छौं । अब यसको संरक्षण गर्ने जिम्मा हाम्रो काँधमा आएको छ । हामी नै लागेनौं भने संरक्षण हुन सक्दैन’ उहाँले भन्नुुभयो ।
काठमाडौंका राजु तुलाधारले निर्माण गर्नुभएको भेडीखर्के साइँलाको सालिक आइतबार नेपाली राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (ब्याकुल माईला) ले अनावरण गर्नुभएको हो । ठाडोभाका संरक्षमा भेडीखर्के साइँलाको ठूलो योगदान रहेको उहाँले बताउनुभयो । मौलिक कला, गीत संगितको जगेर्ना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । ‘श्रष्टाको योगदान राज्यले कदर गर्नुपर्छ । हाम्रोमा त्यो परिपाटी छैन’ उहाँले भन्नुभयो । सालिक अनावरणकै अवसरमा ठाडोभाका समेत प्रस्तुत गरिएको थियो ।
लमजुङको सुन्दरबजार नगरपालिका ११, तुर्लुङकोटमा विक्रम संवत १९९० भदौ २९ गते जन्मिनुभएका भेडीखर्केको ८४ वर्षको उमेरमा २०७४ भदौ २६ गते निधन भएको थियो । भेडीखर्कमा बुवासँगै बस्नुभएको र साइँलो छोरो भएकाले उहाँको नाम भेडीखर्के साइँला रहन गएको उहाँका सहपाठी देवीबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार भेडीखर्केले १२ बर्षको उमेरदेखि ठाडोभाका गाउन सुरु गर्नुभएको हो । ठाडोभाकाको सुरुवात देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले गरेको मानिन्छ ।
Free business joomla templates
web tracking